असोज २३, एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा
मस्जिदमा प्रार्थनाको समयमा एक जना आत्मघाती बम हमलाकारीले आक्रमण गरेको बीबीसीले जनाएको छ । आत्मघाती हमलामा १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौं शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।
इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ ।